शेयर बजारमा लगातार दोस्रो दिन हरियाली, उच्च अंकले बढ्यो नेप्से: लगानीकर्तामा छायो खुशियाली

शेयर बजारमा लगातार दोस्रो दिन हरियाली, उच्च अंकले बढ्यो नेप्से: लगानीकर्तामा छायो खुशियाली

काठमाडौं : साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो ।

चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेको छ । यसअघि मंगलबार पनि नेप्से ४१.८४ अंकले बढेको थियो। भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन ।

साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन लगातार बढ्दा लगानीकर्ताहरुमा हौसला बढेको छ । मंगलबारको तुलनामा शेयर कारोबार रकम समेत बुधबार सुधार भएको छ ।

बुधबारको कारोबारको समाप्तीमा नेप्से २ हजार ६ सय ८१.११ विन्दुमा पुगेको छ। ९ लघुवित्त, २ वटा फाइनान्स र एउटा विकाश बैंकको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ अर्थात १० प्रतिशतले बढेको छ। १९ वटा कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। नेप्सेसहित सबै उपसमूहको सूचक पनि बढेको छ ।

नेप्से परिसूचक बढ्दा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जले एकैदिन ठूलो घटबढ नहोस् भनेर कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन नदिने नियम बनाएको छ ।

सोहि नियम अनुसार बुधबार किसान लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

लगातारको गिरावटपछि पुँजी बजार परिसुचक नेप्से करेक्सनको बाटोमा देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा लगातार दोस्रो दिन सुधार आएको हो।