तीन दिनका मन्त्री, एउटा मात्र निर्णयमा हस्ताक्षरः जम्मा ४० घण्टामात्र मन्त्री पदमा रहे गजेन्द्रबहादुर हमाल

तीन दिनका मन्त्री, एउटा मात्र निर्णयमा हस्ताक्षरः जम्मा ४० घण्टामात्र मन्त्री पदमा रहे गजेन्द्रबहादुर हमाल

काठमाडौं : चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदमुक्त भएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।

शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहे ।

उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल भएको सो मन्त्रालयका अधिकारीहरुले बताएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ पछि छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर साँझ साढे ७ बजे पदभार ग्रहणका लागि हमाल मन्त्रालय पुगेका थिए ।

मन्त्रालयका दुई जना सचिव, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु तथा मातहतका कार्यालयका प्रमुखहरुले उनको स्वागत गरेका थिए । पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिएका छन । प

दभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको थियो । शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए ।

मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिए ।