इराक प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोली

इराक प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप-२०२३ छनोट खेलका लागि मगंलबार इराक प्रस्थान गर्दैछ। मङ्गलबार राति कतार एयरवेजमार्फत् दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपाली टोलीमा २३ खेलाडी र १२ जना अफिसियल गरी ३५ जना इराक जाने भएको हो। यसपटक टोलीमा तीन जना गोलरक्षक रहेका छन्। किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार गोलरक्षकको रुपमा इराक जाने भएका हुन्।

त्यस्तै डिफेन्डरको रुपमा अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल र विकास खवास रहेका छन्। मिडफिल्डरको रुपमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहेका छन् भने फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा रहेका छन्।

नेपाल र इराकको राष्ट्रिय टोलीबीच यही जेठ १५ गते मैत्रीपूर्ण खेल तय भएको छ। इराकसँगको खेलपश्चात नेपाली टोली जेठ १६ गते कुवेत जानेछ। त्यहाँ टोलीले तीन वटा विश्वकप र एसिया कप छनोटका खेल खेल्नेछ।

जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग नेपालको विश्वकप छनोटका खेल हुने तालिका रहेको छ। यसअघि नेपालमै खेल हुने तय भएता पनि कोरोना महामारीका कारण न्यूट्रल भेन्युका रूपमा कुवेतमा खेल हुने भएको हो।एन्फाका अनुसार नेपाली टोलीको हवाई खर्च फिफाले ब्यहोर्ने छ।