आदर्श मिश्रलाई नारायणी अस्पतालद्वारा मुद्दा हाल्ने ध’ म्की

आदर्श मिश्रलाई नारायणी अस्पतालद्वारा मुद्दा हाल्ने ध’ म्की

काठमाडौं : कमेडियन आदर्श मिश्रले नारायणी अस्पतालको हेलचेक्र्याइँले बुवाको निधन भएको दाबी गर्दै बाबुको निधनपछि सामाजिक सञ्जाल मार्फत् आक्रोश पोखिरहेका छन् । अस्पताल प्रशासन र समग्र स्वास्थ्य संयन्त्रमाथि उनले प्रश्न गरिरहेका छन् ।

नारायणी अस्पतालका डा. निरज सिंहले मानहानीको मुद्दा हाल्ने भन्दै आफूलाई धम्की दिएको आदर्शले बताएका छन् । आदर्शले माफी नमागे अस्पतालमा रहेका अन्य मिर्गौला पीडितको उपचार रोक्ने सम्मको धम्की दिएको एक भिडियो सामग्रीमा उल्लेख गरेका छन् ।

आदर्शले भिडियोमा पटकपटक सिंहको नाम लिएर ‘सर मलाई माफी दिनुहोस्’ भनेका छन् । उनले भनेका छन्, ‘सर मलाई माफ दिनु होला । मलाई तपाईंको घमण्ड भन्दा मान्छेको ज्यान ठुलो लाग्छ ।’ उनले भिडियोमा अस्पताल प्रशासनका कमजोरीहरूलाई अझै प्रष्ट रूपमा उठाएका छन् ।

उनले डाक्टरको घमण्डले अरू विनोद मिश्रको ज्यान अकालमा नजाओस् भनेर माफी मागेको पनि बताएका छन् । उनले भनेका छन्, ‘तपाईंले डायलासिस गर्न रोक लगाउन मिल्दैन किनकि तपाईं त भगवान हो । मैले तपाईंको स्वास्थ्य व्यवस्था माथि औँला उठाए । तपाईंलाई के थाहा छ र सर ? यसको पीडा मलाई थाहा छ ।’

उनले आफूविरुद्ध मानहानीको मुद्दा हालिन्छ भनेर डराएर माफी नमागेको बताएका छन् । उनले भनेका छन्, ‘न तपाईंलाई आफ्नो इज्जतको मतलब छ, न आफ्नो मान्छे गुमाउनुको पीडा ।’

उनले आफूविरुद्ध मुद्दाको धम्की दिने डाक्टरलाई सजिलो होस् भनेर आफ्नो तीनपुस्ते विवरण समेत भिडियो मार्फत बताइदिएका छन् ।