पछिल्लो २४ घण्टामा थपिए यति धेरै संक्रमित, संक्रमणबाट ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए यति धेरै संक्रमित, संक्रमणबाट ३० जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बताएका छन् ।

हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच छिमेकी राष्ट्र भारतमा पनि कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना संक्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल संक्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि सक्रिय संक्रमितको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना संक्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना संक्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।