मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सहज जित, पीएसजीको जित भने संघर्षपूर्ण

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सहज जित, पीएसजीको जित भने संघर्षपूर्ण

काठमाडौं : बुधबार राति प्रि–सिजनको तयारीको लागि बार्सिलोनाले खेलेको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । उक्त खेलमा बार्सिलोनाले जिम्नास्टिकलाई ४–० ले हराएको हो ।

तेस्रो डिभिजन क्लबसँगको खेलका लागि बार्सिलोनाले पहिलो रोजाइमा सिनियर टिमका पाँच खेलाडीलाई मैदानमा उतारेको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्‍यो । बार्सिलोनाको जितमा रे मानाजले ह्याट्रिक गरे । त्यस्तै, एलेक्स कोलाडोले एक गोल गरेका थिए ।

१० खेलाडीमा सीमित जिम्नास्टिकविरुद्ध खेलको ६०औँ मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा एलेक्सले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ८६औँ मिनेटमा मानाजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा मानाजले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।

त्यस्तै, मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पनि जित निकालेको छ । प्रि–सिजन तयारीअन्तर्गतको खेलमा संघर्षपूर्ण जित हासिल गरेको हो । बुधबार राति नै पीएसजीले जर्मन क्लब अग्सवर्गलाई २–१ ले पराजित गरेको हो । पीएसजीले मैत्रीपूर्ण खेलमा ‘बी’ टिमका खेलाडीहरु उतारेको थियो ।

पार्क डी प्रिन्सेस स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन जुलियन ड्राक्सलरले एक गोल गरे । पीएसजीले एक गोल आत्मघाती उपहार पायो । अग्सवर्गका फ्लोरियनले एक गोल फर्काए । पीएसजीका लागि खेलको जुलियनले ६२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा अग्सवर्गका फ्लोरियनले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए ।

९०औँ मिनेटमा अग्सवर्गका जेफ्रीले आत्मघाती गोल गरेपछि पीएसजी २–१ ले विजयी भयो ।